भक्तपुरका बस्तीमा यतिबेला बिहान घाम लाग्नेबित्तिकै एउटा परिचित दृश्य देखिन थालेको छ — घर अगाडि, सडक छेउ र खाली परेका ठाउँमा धान फैलाएर सुकाइएको। दसैँ र तिहारको मौसमसँगै धान काट्ने र भित्र्याउने काम सुरु भएपछि यहाँका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्ने चटारो लागेको छ।
भक्तपुरको पुरानो बस्तीमा घरहरू एकअर्कासँग टाँसिएर बनेका छन् र खुला ठाउँ निकै कम छ। त्यसैले सडक नै लामो समयदेखि धान सुकाउने मुख्य थलो बन्दै आएको छ। घाम लागेका बेला धान फिँजाउने र साँझ घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित ठाउँमा राख्ने चलन अहिले पनि कायमै छ।
स्थानीय मनिषा मचामसीका अनुसार यो दृश्य भक्तपुरका लागि कुनै नयाँ कुरा होइन। पहिले धेरैजसो घरमा झिँगटीको छाना हुने भएकाले कौसीमा धान सुकाउन सम्भव थिएन, त्यसैले सबैले सडक र खुला ठाउँ रोज्ने गर्थे। अहिले ढलान भएका घर बनेपछि कतिपयले आफ्नै कौसीमा धान सुकाउन थालेका छन्, तर सडकमा सुकाउने परम्परा भने हराएको छैन।
पहिले सडकमा धान सुकाउनुअघि सतह सफा गरेर रातोमाटोले लिप्ने गरिन्थ्यो। अहिले धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याउने चलन बढेको छ। अर्की स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउन पालो कुर्नुपर्थ्यो र राति चोरीको डरले धानको थुप्रोसँगै सुतेर कुरेर बस्नुपर्थ्यो। सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेपछि त्यो बाध्यता भने कम हुँदै गएको छ।
धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गए पनि यो चलनले यहाँको कृषि परम्परा र जीवनशैलीलाई अझै झल्काउँछ। तर सडकमा धान फैलाउँदा पैदलयात्री र सवारीसाधनलाई भने आवतजावतमा असहज हुने गरेको छ।
