आगामी एसीसी पुरुष यू–१९ एसिया कपको तयारीका लागि नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरेर पोखरा रङ्गशालाको क्रिकेट मैदानमा प्रशिक्षण थालेको हो।
टोलीले पोखरामा पाँच दिन प्रशिक्षण गर्नेछ र सो अवधिमा चार अभ्यास खेल खेल्नेछ। प्रशिक्षणबाट खेलाडीको क्षमता र प्रदर्शन मूल्याङ्कन गरेर १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताएका छन्।
एसिया कप यही कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा हुँदैछ। नेपाल समूह ‘ए’ मा छ, जहाँ भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स पनि छन्। नेपालले आफ्नो पहिलो खेल कात्तिक २० गते भारतसँग खेल्नेछ।
काठमाडौँका मैदानमा निरन्तर प्रतियोगिता हुने भएकाले बन्द प्रशिक्षणका लागि पोखरा रोजिने गरेको सिग्देलको भनाइ छ। पोखराको वातावरण र मैदानको अवस्थाले प्रशिक्षण र अभ्यास खेलका लागि सहज हुने र यसले स्थानीय क्रिकेटको विकासमा पनि सहयोग पुग्ने उनले बताए। प्रशिक्षणका लागि पोखरा पुगेको टोलीलाई कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दीपेन्द्रप्रताप चन्दलगायतले रङ्गशालामा स्वागत गरेका थिए।
