सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले क्रिकेटमा नतिजा तलमाथि हुनु सामान्य कुरा भएको बताएका छन्। बुधबार पोखरा एभेन्जर्ससँगको खेलपछि प्रतिक्रिया दिँदै उनले टोलीले राम्रो खेलेर पनि कहिलेकाहीँ अपेक्षित परिणाम हात पार्न नसकिने उल्लेख गरे। उनका अनुसार नेपाल प्रिमियर लिगका पछिल्ला दुई सिजनमा धेरै खेल अन्तिम समयमा उल्टिएका छन्।
अघिल्लो खेलमा टोलीले ब्याटिङ क्रममा गरेको फेरबदलबारे पाण्डेले खुलस्त कुरा गरे। त्यस खेलमा आरिफ शेखलाई माथिल्लो क्रममा पठाइएको थियो। तर बलियो साझेदारी खडा हुन नसक्दा टोलीले चाहेको नतिजा निकाल्न सकेन। उनले साझेदारी नबन्नु नै त्यो खेलमा पछाडि पर्नुको मुख्य कारण भएको बताए।
यस सिजन नेपाल प्रिमियर लिगमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू भएको विषयलाई पाण्डेले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भने। खेलको सुरुआती तीन ओभरभित्रै तीन निर्णय बदलिएको स्मरण गर्दै उनले डीआरएस नभएको भए अवस्था झन् कठिन हुन सक्ने बताए। ब्याटरका लागि हरेक बलको महत्त्व हुने भएकाले सही निर्णयका लागि यो प्रणाली आवश्यक रहेको उनको भनाइ छ।
टोलीमा बायाँ हाते स्पिनर अनिल खरेल भित्रिएको विषयमा पनि पाण्डेले सकारात्मक धारणा राखे। अस्ट्रेलियामा उच्च स्तरको क्रिकेट खेलेका खरेलको आगमनले टोलीको शक्ति र आत्मविश्वास दुवै बढेको उनले बताए। नयाँ खेलाडीको राम्रो प्रदर्शनले टोलीलाई अझ सन्तुलित बनाएको उनको भनाइ छ।
ब्याटिङ रणनीतिबारे कुरा गर्दै पाण्डेले सुरुआतमा संयमित भएर खेले पनि एउटा राम्रो साझेदारी बनेपछि खेल आफ्नो पक्षमा ल्याउन सकिने बताए। रन र बलको दबाब रहे पनि हतारिएर जोखिमपूर्ण सट खेल्नुपर्ने अवस्था नहुने उनको तर्क छ। परिस्थितिअनुसार धैर्यपूर्वक खेलेमा टोली राम्रो नतिजातर्फ अघि बढ्न सक्ने उनले बताए।
