ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विकासका काममा प्रयोग गर्ने एउटा नयाँ स्काभेटर पाएको छ। चीन सरकारले अनुदानमा दिएको उक्त मेसिन बुधबार सिन्धुपाल्चोकको तातोपानी नाकामा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। गाउँपालिकाले आफ्नो क्षेत्रमा सडक र अन्य संरचना बनाउने काम छिटो अगाडि बढाउन यस्तो उपकरण माग गरेको थियो।
तातोपानीमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चिनियाँ प्रतिनिधिमण्डलसँग सम्झौतामा हस्ताक्षर गरे। त्यसपछि उनले मेसिन बुझेको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले बताए। गाउँपालिकाले ब्रेकर जडान भएको स्काभेटर उपलब्ध गराइदिन चीन सरकारसँग अनुरोध गरेको थियो। स्थानीय तहमा सडक निर्माण, सडकको स्तर सुधार र अन्य भौतिक संरचनासम्बन्धी कामलाई अझ प्रभावकारी बनाउन यो सहयोग उपयोगी हुने विश्वास गरिएको छ।
मेरिङदेन भौगोलिक रूपमा विकट क्षेत्रमा पर्छ। त्यहाँ आफ्नै निर्माण उपकरण नहुँदा सडक बनाउने र मर्मत गर्ने काममा कठिनाइ हुँदै आएको थियो। अब मेसिन उपलब्ध भएपछि ती काम सहज हुने गाउँपालिकाको अपेक्षा छ। प्राप्त मेसिनको मूल्य करिब एक करोड ७० लाख रुपैयाँ रहेको बताइएको छ।
गाउँपालिकाले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएको छ। साथै, मेसिन ल्याउने प्रक्रियामा समन्वय र सहजीकरणमा सहयोग गर्ने फक्ताङ्लुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शेर्पाप्रति पनि आभार व्यक्त गरिएको छ। अध्यक्ष हाङ्गामले अनुदानले गाउँपालिकाको विकास निर्माणमा थप गति दिने बताए।
