दाङको बबई गाउँपालिका–५ स्थित हापुरे बजारमा रहेको एक कस्मेटिक पसलमा बुधबार साँझ भीषण आगलागी भयो। खिमबहादुर सोमैले सञ्चालन गर्दै आएको गौरी शृंगार पसलमा राति ८ बजेतिर आगो लागेको थियो। राति १० बजेसम्म पनि आगो नियन्त्रणमा आउन सकेको थिएन भने घटनास्थलमा दमकल पुगेको थिएन।
विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगोले पसलका सबै सामान नष्ट भएको स्थानीयले बताएका छन्। आगो निभाउन स्थानीय बासिन्दा बाल्टिनले पानी ओसारेर प्रयास गरिरहेका थिए। अवस्था निकै कठिन रहेको र धेरैले भगवान्को प्रार्थना गरिरहेको स्थानीय युवा झुपलाल बुढा क्षेत्रीले बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली घटनास्थलमा पुगेका थिए। तर दमकल नहुँदा उनीहरूले आगो दन्किएको हेरेर मात्र बस्नुपरेको स्थानीयको भनाइ छ।
दमकल ढिलो हुनुको कारण तुलसीपुर क्षेत्रमा दमकल नै नहुनु रहेको छ। तुलसीपुर उपमहानगरपालिकासँगै पश्चिमका चार पालिकामा पनि दमकल छैन। यसअघि तुलसीपुरसँग मात्र एउटा दमकल थियो, जुन २०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा जलाएर नष्ट पारिएको थियो। त्यसयता एक वर्ष बितिसक्दा पनि तुलसीपुरले नयाँ दमकल किनेको छैन। त्यसैले घोराहीबाट दमकल मगाउनुपरेको हो। घोराही तुलसीपुरबाट करिब २४ किलोमिटर पूर्वमा र हापुरेबाट करिब ४६ किलोमिटर टाढा छ।
