काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच बुधबार बुढानीलकण्ठमा लामो छलफल भएको छ। लामिछानेको निवासमा भएको भेटवार्ता पाँच घण्टाभन्दा बढी समयसम्म चलेको स्रोतले जनाएको छ।
छलफलमा सरकारले ल्याउने भनिएको अध्यादेशबारे सबैभन्दा पहिले र विस्तृत रूपमा कुराकानी भएको स्रोतको भनाइ छ। त्यसपछि सांसद खगेन्द्र सुनुवारको पछिल्लो विवादित अडियो प्रकरणलाई गम्भीर रूपमा लिँदै त्यसबारे कानुनी वा अन्य कदम चाल्ने विषयमा पनि परामर्श भएको बताइएको छ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसम्बन्धी विषयमा समेत छलफल भएको थियो। इनम सापकोटासँग कार्कीको सम्बन्ध देखिएको विषयमा सभापति लामिछानेले आफ्नो अडान राखेको बुझिएको छ। बाहिर आएका कुरा तथ्यमा आधारित नभएको भन्दै यस विषयमा संयमित तरिकाले अघि बढ्नुपर्ने धारणा छलफलमा राखिएको स्रोतले जनाएको छ। बालेन्द्र भने कार्कीको विपक्षमा उभिएको स्रोतको दाबी छ।
यी तीन विषयका अतिरिक्त आगामी भारत भ्रमण तथा सरकारका अन्य नीतिगत र प्रशासनिक निर्णयबारे पनि समीक्षा र जानकारी आदानप्रदान भएको बताइएको छ। यद्यपि लामो छलफलका आन्तरिक विवरणबारे दुवै पक्षका नेताहरूले औपचारिक जानकारी दिन नचाहेको बताइएको छ। छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
