काठमाडौं । प्रधानमन्त्री बालेन शाह बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगे । मुख्य सल्लाहकार कुमार बेनसहित पुगेका प्रधानमन्त्रीले त्यहाँ झन्डै चार घण्टा बिताए । बिहान सवा १० बजे सुरु भएको कुराकानी दिउँसो सवा २ बजेसम्म चलेको सुरक्षा स्रोतले जनाएको छ ।
लामिछाने आइतबार मध्यराति भारतबाट एयर इन्डियाको उडानमार्फत काठमाडौं फर्किएका थिए । फर्किएलगत्तै भएको यो भेटमा दुई नेताबीच केही संवेदनशील विषयमा साझा धारणा बनाउने प्रयास भएको बुझिएको छ । जरुरी निर्णय, अध्यादेश र केही राजनीतिक नियुक्तिका विषयमा समेत छलफल भएको स्रोतहरूको भनाइ छ ।
भेट लम्बिएपछि र केही विषयमा टुङ्गो लाग्न बाँकी रहेकाले आजका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक बिहीबारका लागि सारिएको छ । केही नियुक्तिका विषयमा भने दुई नेताबीच अझै सहमति जुट्न बाँकी रहेको बताइएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडिएको विषयमा पनि कुरा भएको संकेत गरिएको छ । यद्यपि प्रहरी प्रमुख हटाइएमा को आउने भन्ने विषयमा दुई नेताको धारणा नमिलेको उच्च स्रोतको दाबी छ । प्रधानमन्त्रीनिकट स्रोतले भने कार्कीलाई दिइएको जिम्मेवारी उनले छिट्टै पूरा गर्ने र ठूलो समस्या नरहेको बताएको छ ।
कार्कीसँग सम्बन्धित प्रहरी पोशाकको विषयमा बिहीबार सिंहदरबारमा संसदीय उपसमितिको बैठक बोलाइएको छ । भेटमा लामिछानेको भारत भ्रमणबारे पनि कुरा भएको र उनले व्यक्तिगत प्रयोजनको भ्रमणका अनुभव प्रधानमन्त्रीसँग बाँडेको बुझिएको छ । प्रधानमन्त्री शाह मंसिरको पहिलो साता नयाँदिल्ली जाने तयारीमा छन् । दुवैतर्फका निकटस्थ नेताहरूले भने भेटबारे औपचारिक रूपमा केही बताउन चाहेनन् ।
