मंगलबार सार्वजनिक भएको आधिकारिक विवरणले अस्ट्रेलियामा गएको वर्ष आत्महत्याका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको देखाएको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्यांकअनुसार सन् २०२५ मा देशभर तीन हजार दुई सय ८३ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो।
उक्त वर्ष देशभर दर्ता भएका कुल एक लाख ८८ हजार चार सय २१ मृत्युको तुलनामा आत्महत्याबाट भएको मृत्युको हिस्सा सानो देखिए पनि यो देशमा मृत्युको १५औँ प्रमुख कारण बनेको छ। अघिल्लो वर्ष सन् २०२४ मा यस्तो मृत्युको संख्या तीन हजार तीन सय २६ थियो। त्यसको तुलनामा नयाँ संख्या केही कम देखिएको छ। तर मृत्युका घटनाबारे आधिकारिक छानबिन अझै चलिरहेकाले अन्तिम संख्या बढ्न सक्ने ब्युरोले बताएको छ।
तथ्यांकमा लैंगिक असमानता स्पष्ट देखिएको छ। आत्महत्याका कारण ज्यान गुमाउनेमध्ये ७३ दशमलव नौ प्रतिशत पुरुष थिए। मृतकको औसत उमेर ४५ वर्ष थियो। पुरुषको औसत उमेर ४५ दशमलव पाँच वर्ष र महिलाको औसत उमेर ४३ दशमलव आठ वर्ष रहेको तथ्यांकले देखाएको छ।
उमेर समूहका आधारमा हेर्दा यो समस्या युवामा झनै गम्भीर देखिएको छ। सन् २०२५ मा १५ देखि ४४ वर्ष उमेर समूहका अस्ट्रेलियालीहरूमा आत्महत्या मृत्युको प्रमुख कारण थियो। अन्य प्रमुख २० कारणबाट मृत्यु हुनेको औसत उमेर ६५ दशमलव पाँच वर्षभन्दा कम नभएको तथ्यांकमा उल्लेख छ। आत्महत्याका कारण सम्भावित बाँकी जीवनावधि हिसाब गर्दा कुल एक लाख आठ हजार छ सय ७४ वर्षको जीवन गुमेको अनुमान गरिएको छ।
