काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको माग बढ्दै जाँदा चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी जेन्सेन हुआङ विश्वका दशौँ धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सको ९ नोभेम्बर २०२६ को विवरणअनुसार उनको कुल सम्पत्ति १५५ अर्ब अमेरिकी डलर अर्थात् करिब १४ दशमलव ५७ लाख करोड रुपैयाँ पुगेको छ ।
एकै दिनमा उनको सम्पत्ति ३ दशमलव ९९ अर्ब डलर अर्थात् २ दशमलव ६ प्रतिशतले बढेको थियो । यद्यपि उनको सम्पत्ति निरन्तर उकालो मात्र लागेको छैन । सन् २०२६ को मे महिनामा १९५ अर्ब डलर पुगेको उनको सम्पत्ति त्यसपछि घटेको थियो । एनभिडियामा रहेको करिब ३ दशमलव ४ प्रतिशत हिस्सेदारी नै उनको सम्पत्तिको मुख्य आधार हो । त्यसमा उनको नाममा रहेका सेयर र पारिवारिक ट्रस्टमार्फत राखिएका सेयरसमेत समावेश छन् ।
ब्लुमबर्गका अनुसार उनको कुल सम्पत्तिमध्ये करिब १५१ दशमलव ५ अर्ब डलर सार्वजनिक रूपमा कारोबार हुने सम्पत्तिमा छ, जसमा एनभिडियाको सेयरको ठूलो हिस्सा छ । उनको नगद सम्पत्ति करिब ३ दशमलव ४८ अर्ब डलर अनुमान गरिएको छ । त्यसैले एनभिडियाको सेयर मूल्यमा हुने उतारचढावले उनको व्यक्तिगत सम्पत्तिमा प्रत्यक्ष प्रभाव पार्छ ।
हुआङले सन् १९९३ मा क्रिस मालाचोव्स्की र कर्टिस प्रिमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए । कम्पनीको मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान्टा क्लारामा छ । कम्पनीको इतिहासअनुसार हुआङले आफ्ना दुई साथीहरूसँग अमेरिकाको ड्यानीज रेस्टुरेन्टमा खाना खाँदै गर्दा एनभिडिया स्थापना गर्ने योजना बनाएका थिए । त्यतिबेला उनी २९ वर्षका थिए ।
सुरुमा कम्पनीले भिडियो गेमका लागि प्रोसेसर निर्माणमा ध्यान दिएको थियो । सन् १९९९ मा एनभिडिया सेयर बजारमा सूचीकृत भयो । त्यही वर्ष कम्पनीले ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) सार्वजनिक गर्यो, जसको प्रयोग सुरुमा मुख्यतः गेमिङमा हुन्थ्यो । सन् २००६ मा कम्पनीले सीयूडीए आर्किटेक्चर सार्वजनिक गरेपछि जीपीयूको प्रयोग गणितीय तथा वैज्ञानिक गणनालगायत जटिल काममा पनि सम्भव भयो ।
एनभिडियाको सफलताको सबैभन्दा ठूलो आधार एआई प्रविधिको बढ्दो माग बन्यो । सन् २०१६ को अन्त्यसम्म एनभिडियाले ओपनएआईलाई आफ्नो पहिलो सुपरकम्प्युटर उपलब्ध गराएको थियो । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि एआई उद्योग तीव्र गतिमा विस्तार भयो । ठूला एआई मोडेल निर्माण र सञ्चालन गर्न शक्तिशाली कम्प्युटिङ चिप आवश्यक परेपछि एनभिडियाका उत्पादनको माग पनि बढ्दै गयो । सन् २०२४ मा एनभिडियाको बजार मूल्य तीन लाख करोड डलर नाघेको थियो । यही अवधिमा जेन्सेन हुआङको व्यक्तिगत सम्पत्ति पनि १०० अर्ब डलरभन्दा माथि पुगेको थियो ।
सन् १९६३ मा ताइवानको राजधानी ताइपेईमा जन्मिएका हुआङ बाल्यकालमै परिवारसहित अमेरिका गएका थिए । उनले सन् १९८४ मा ओरेगन स्टेट युनिभर्सिटीबाट विद्युतीय इन्जिनियरिङमा स्नातक र सन् १९९२ मा स्ट्यानफोर्ड युनिभर्सिटीबाट सोही विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए । एनभिडिया स्थापना गर्नुअघि उनले प्रविधि उद्योगमा काम गरेका थिए । सन् १९९३ देखि नै उनी एनभिडियाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।
