टर्कीएको आन्ताल्या सहरमा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा नेपालको पेभिलियन औपचारिक रूपमा खुलेको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले पेभिलियनको उद्घाटन गरेका हुन्।
नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधताको संरक्षणमा हासिल भएका उपलब्धि र समुदायस्तरमा सञ्चालित अनुकूलनका प्रयासलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले पेभिलियन स्थापना गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खनालले हिमाली पारिस्थितिक प्रणालीले भोगिरहेको जलवायु जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। हिउँ, हिमनदी र जमेको पानीको प्रणालीमा देखिँदै गएको परिवर्तनले हिमाली क्षेत्रमा नयाँ खालका जोखिम जन्माइरहेको उनले बताए।
हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’ भन्दै उनले जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका नेपालजस्ता मुलुकले असमानुपातिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरे।
जलवायु न्याय सुनिश्चित गर्न र हानि तथा क्षति कोषमा प्रभावित मुलुकको सहज पहुँच स्थापित गर्न अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको उनको जोड थियो। हिमाली क्षेत्रको संरक्षणसँगै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षाका लागि पनि विश्वव्यापी सहकार्य आवश्यक रहेको उनले बताए।
कार्यक्रममा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहता र सङ्घीय संसद् प्रतिनिधिसभाका सदस्य सागर ढकाललगायतले पनि सम्बोधन गरेका थिए।
