डकार — अफ्रिकाबाट युरोपतर्फ जाने खतरनाक एटलान्टिक समुद्री मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा पर्दा कम्तीमा २१ जनाको ज्यान गएको छ। सेनेगलको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक जनालाई जीवितै उद्धार गरिएको र २१ जनाको शव पानीबाट निकालिएको जानकारी दिएको छ।
शनिबार अबेरसम्म मृतकको संख्याबारे फरक–फरक विवरण सार्वजनिक भएका थिए। हराइरहेका व्यक्तिको खोजी कार्य अझै जारी रहेको र पीडित परिवारलाई सहयोग भइरहेको अधिकारीहरूले बताएका छन्।
सञ्चारमाध्यमका अनुसार डुङ्गा शनिबार राजधानी डकार र उत्तरी शहर सेन्ट लुइसको बीचमा पर्ने केबेमर र लुम्पोल क्षेत्रमा दुर्घटनामा परेको थियो। सोलेल पत्रिकाका अनुसार धेरैजसो पीडित लियोना र थिप्पेका बासिन्दा थिए।
यसैबीच सेनेगलका अधिकारीहरूले शनिबार महिला र बालबालिकासहित १ सय ४२ जना आप्रवासीलाई पक्राउ गरेको जनाएका छन्। उनीहरू सानो डुङ्गामा स्पेनतर्फ जाँदै थिए।
पछिल्ला वर्षहरूमा स्पेनको क्यानरी टापु पुग्ने प्रयासमा एटलान्टिक मार्गमा भएका दुर्घटनामा पश्चिम अफ्रिकाका हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्।
