मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा गएराति भएको आक्रमणमा एक ४० वर्षीय पुरुषको ज्यान गएको छ। करिब राति १० बजे टाउकोमा रडले प्रहार भएपछि बुधराम सोरेन घटनास्थलमै ढलेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आक्रमणमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली मास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्र संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। दुवैले मिलेर सोरेनको टाउकोमा रड प्रहार गरेको प्रहरीको भनाइ छ।
घटनापछि मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मास्के भागेकी छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सोरेनमाथि आक्रमण गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।
