धादिङ र चितवनको सिमानामा पर्ने घोप्टेभीरमा फेरि सुख्खा पहिरो खसेको छ। पृथ्वी राजमार्गको उक्त खण्डमा गएराति माथिबाट पहिरो खस्दा सोमबार बिहानैदेखि सडक दुवैतर्फ बन्द भएको छ।
कुरिनटार नजिकै पर्ने यो स्थान पहिरोका लागि संवेदनशील मानिन्छ। यही ठाउँमा खसेको पहिरो पन्छाएर सडक भर्खरै खुलाइएको थियो, तर राति फेरि पहिरो खस्दा यात्रा प्रभावित भएको छ। पृथ्वी राजमार्ग काठमाडौंलाई पोखरा र पश्चिम नेपालसँग जोड्ने मुख्य बाटो भएकाले सडक बन्द हुँदा लामो दूरीका यात्रु र मालवाहक सवारीलाई प्रत्यक्ष असर परेको छ।
सडक डिभिजन कार्यालय, चितवनका अनुसार पहिरो पन्छाउन सोमबार बिहान ६ः३० बजेदेखि मेसिन तथा उपकरण परिचालन गरिएको छ। पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान कार्यालयले गरेको छ। काम सकिएलगत्तै सडक दुवैतर्फ खुलाइने कार्यालयले जनाएको छ।
सडक बन्द भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्क रहन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ। पहिरो पन्छाउने काम चलिरहेकाले उक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।
