सोमबार देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको आंशिक प्रभावले यस्तो अवस्था बन्ने महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
सोमबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। राति गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
