काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने घोषणा गरेको छ। क्यानले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताभरि खेलाडीहरूले अम्पायरको निर्णय चुनौती दिन पाउनेछन्, जुन नेपाली क्रिकेटका लागि ऐतिहासिक कदम मानिएको छ।
सिद्धार्थ बैंकद्वारा प्रायोजित यो प्रतियोगिता यही अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
डीआरएस थपिएपछि क्यानले यसअघि सार्वजनिक गरेको खेलतालिकाको समयसमेत हेरफेर गरेको छ। नयाँ तालिकाअनुसार दिनमा दुई खेल हुने मितिमा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एउटा मात्र खेल हुने दिनमा उक्त खेल साँझ ५ बजेदेखि खेलाइने क्यानले जनाएको छ।
विज्ञप्ति क्यानका सचिव पारस खड्काले जारी गरेका हुन्। आयोजकले यो निर्णयले खेलको निष्पक्षता र गुणस्तर दुवै बढाउने विश्वास लिएको छ। एनपीएलको यो तेस्रो सत्र नेपालमै खेलिने सबैभन्दा ठूलो टी-२० प्रतियोगिता हो।
