काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण केवल क्रिकेटको प्रतिस्पर्धामा सीमित छैन, यसले नेपाली चाडपर्व र संस्कृतिको झल्को समेत दिइरहेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भइरहेका बेला तिहारको देउसी–भैलो गीत गुञ्जिँदा मैदानको माहोल थप रमाइलो बनेको छ।
तिहार नेपालीको दोस्रो ठूलो चाड हो। यस अवसरमा घरघरमा देउसी–भैलो खेल्ने परम्परा छ। यही सांस्कृतिक परम्पराको झल्को एनपीएलको मैदानमा पनि देखिएको छ। दर्शकले देउसी–भैलोको भाकामा गीत गाउँदै खेलको माहोललाई उत्सवमय बनाएका छन्।
यसअघि वर्षाका कारण सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल सुरु हुन ढिलाइ हुँदा दर्शकले देउसी–भैलो शैलीमा गीत गाएर आयोजक र खेलाडीलाई खेल सुरु गर्न आग्रह गरेका थिए। एनपीएलमा यसअघि पनि नेपाली तथा विदेशी गीत–संगीतले दर्शकलाई मनोरञ्जन दिँदै आएको छ। प्रतियोगितामा पप, र्याप, लोक तथा फिल्मी गीतसँगै आठवटै टोलीका छुट्टाछुट्टै एन्थम बजाउने गरिएको छ। प्रतियोगिताका लागि दुईवटा आधिकारिक गीतसमेत तयार पारिएका छन्।
संगीत व्यवस्थापनको जिम्मेवारी एलओडी क्लबले पाएको छ। खेलको अवस्था र दर्शकको उत्साहअनुसार गीत छनोट गरेर बजाउने गरिएको छ। यसरी क्रिकेटसँगै नेपाली मौलिक संस्कृति, चाडपर्व र संगीतको सम्मिश्रणले एनपीएललाई खेलकुद प्रतियोगितामा मात्र सीमित नराखी मनोरञ्जनको उत्सवका रूपमा समेत स्थापित गर्न खोजेको देखिन्छ। मैदानमा खेलाडीको प्रदर्शनसँगै दर्शकको गीत, संगीत र उत्साहले पनि प्रतियोगिताको रौनक बढाएको छ।
