एभरेस्ट वुमन्स भलिबल लिग (ईडब्ल्यूभीएल) को आगामी तीन संस्करणका लागि विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड रेड बुल मुख्य प्रायोजक बनेको छ। आयोजकले बुधबार रेड बुलसँगको सहकार्यबारे औपचारिक घोषणा गरेको हो। यो सम्झौता आगामी संस्करणदेखि लागू हुनेछ।
रेड बुल नेपालका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले खेलकुद र ऊर्जा रेड बुलको मूल मन्त्र रहेको उल्लेख गर्दै राष्ट्रिय खेल भलिबलको उत्थानमा सहभागिता जनाउन पाउँदा गौरवान्वित भएको बताएका छन्। उनका अनुसार यो एउटा सिजनको मात्र नभई आगामी तीन सिजनसम्मको दीर्घकालीन सहकार्य हो, जसले नेपाली खेलकुद र यहाँका प्रतिभाप्रति अगाध विश्वास देखाउँछ।
एभरेस्ट वुमन्स भलिबल लिगकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईँले रेड बुलको अन्तर्राष्ट्रिय पहिचान र खेलकुद क्षेत्रको अनुभवले लिगको स्तर उकास्न सहयोग पुग्ने बताएकी छन्।
आयोजकका अनुसार यस सहकार्यले लिगको प्रतिस्पर्धात्मक स्तर सुधार्न, खेलाडीको विकासमा सहयोग पुर्याउन तथा युवा र किशोरीहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै दीर्घकालीन आधार तयार पार्न सहयोग पुग्नेछ। साथै, खेल अनुभवमा सुधार, खेलाडीलाई उपलब्ध सुविधाको विस्तार र दर्शकसँगको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
