नेपालको इजाजतपत्र प्राप्त ओटीटी प्लेटफर्म डिगो र विश्वव्यापी स्ट्रिमिङ सेवा जिओहटस्टारबिच साझेदारी भएको छ। यो साझेदारीसँगै जिओहटस्टारका मनोरञ्जनात्मक सामग्रीहरू अब डिगोमार्फत नेपाली दर्शकहरूका लागि उपलब्ध हुने भएका छन्।
युनाइटेड किङ्डम, क्यानडा, सिङ्गापुर तथा मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै जिओहटस्टारले डिगोसँग सहकार्य गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको हो। यस साझेदारीअन्तर्गत डिगोभित्रै जिओहटस्टारका लागि समर्पित प्लेटफर्म सिर्जना गरिएको छ, जसमा ब्लकबस्टर चलचित्रहरू, ओरिजिनल सिरिज, दैनिक टेलिभिजन शो, रियालिटी फ्रान्चाइज र बालबालिकाका सामग्रीहरू समावेश छन्।
नेपाल प्रवेशका क्रममा ‘भेडिया’, ‘१२थ फेल’ र ‘केसरी च्याप्टर २’ जस्ता ब्लकबस्टर चलचित्रसँगै ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’ र ‘स्पेसियल अप्स’ जस्ता ओरिजिनल तथा ‘बिग बोस’ र ‘कफी विथ करण’ लगायतका लोकप्रिय कार्यक्रमहरू उपलब्ध गराइएका छन्। दर्शकहरूले डिगोको प्रतिमहिना २४९ रुपैयाँबाट सुरु हुने मोबाइल र प्लस प्लानमार्फत यी सामग्रीहरूको आनन्द लिन सक्नेछन्।
जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले नेपाल आफ्ना लागि महत्त्वपूर्ण बजार रहेको बताउँदै डिगोसँगको सहकार्यले स्थानीय प्लेटफर्मको सहजतासँगै दर्शकहरूलाई फराकिलो विकल्प दिएको बताएका छन्। त्यस्तै, डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले यो सहकार्य डिगो र नेपालको मनोरञ्जन उद्योगका लागि महत्त्वपूर्ण माइलस्टोन भएको उल्लेख गर्दै नेपाली दर्शकलाई एउटै प्लेटफर्ममा उत्कृष्ट विकल्पहरू प्रदान गर्ने लक्ष्य रहेको बताएका छन्।
यसैगरी, डिगोमा प्रत्येक हप्ता नयाँ नेपाली चलचित्रहरू थपिनेछन् भने ला लिगा, मोटो जिपी र काराबाओ कप जस्ता प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद पनि बिना कुनै अतिरिक्त शुल्क हेर्न सकिनेछ।
