दसैंको मुखमा काठमाडौं उपत्यकामा खसीको मासु गत वर्षभन्दा धेरै महँगो भएको छ। बजारमा मूल्य बढे पनि किसानले भने आशा गरेको भाउ नपाएको गुनासो गरेका छन्।
गत वर्ष यो बेला खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएको थियो। अहिले मासु पसलमा प्रतिकिलो १७ सयदेखि १८ सय ५० रुपैयाँसम्म पुगेको छ।
दसैं नेपालमा मासु खपतको सबैभन्दा ठूलो पर्व हो। यसपटक बजारमा भाउ उकासिनुका कारणबारे व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी र दानाको खर्च बढ्नु तथा बाढीपहिरोपछि गाउँबाट खसीबोका ल्याउन अप्ठ्यारो भएको उल्लेख गरेका छन्।
काभ्रेबाट खसीबोका लिएर बिक्री गर्न आएका किसान बैनसिंह मोक्तान बिक्रीमा समस्या नभए पनि सोचेजस्तो मूल्य नपाएको बताउँछन्। उनले २ सय ५० वटा खसी ल्याएकामा २ सय १० वटा बिक्री गरिसकेका छन्। ४० वटा बाँकी रहेको उनले बताए। तौलअनुसार प्रतिकिलो ७ सयदेखि ९ सय रुपैयाँमा बिक्री गरिरहेको उनले बताएका छन्।
उता मासु उपभोक्ता अमृत तिवारी भने जिउँदो खसी प्रतिकिलो ९ सयदेखि १ हजार र तयारी मासु १८ सयदेखि २ हजार रुपैयाँसम्म तिर्नुपरेको बताउँछन्। यस वर्ष भारतीय खसी नआएको कारण पनि मूल्य बढेको हुन सक्ने उनको अनुमान छ।
नेपालको मासु खपतको ठूलो हिस्सा दसैंमै हुने भएकाले यस पर्वको दुई सातामा उपत्यकामा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जिउँदा खसीबोका बिक्री हुने अनुमान गरिएको छ।
