नुवाकोटकी सन्तमाया तामाङका लागि यसपालिको दसैं सामान्य खरिदपर्व मात्र रहेन — जीवनकै ठूलो उपहार बोकेर आयो। नुवाकोटको एस.एस. फेन्सी हाउसबाट तीन हजार रुपैयाँको सामान किन्दा उनले लिएको एउटा साधारण बिल आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा दश लाख रुपैयाँको बम्पर उपहार जित्न पुग्यो।
काठमाडौंको विशाल बजारमा आयोजित विशेष कार्यक्रममा चर्चित कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर गोलाप्रथाबाट विजेताहरूको नाम सार्वजनिक गरेका थिए। उनको कुपन नम्बर ०८१६३२५१५८४९ बम्पर उपहारका लागि छानिएको थियो। घोषणा हुनासाथ कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई टेलिफोन गरेर उपहार जितेको खबर सुनाए। सुरुमा कसैले आफूलाई जिस्क्याएको ठानेकी तामाङलाई उनीहरूले यो नेपाल सरकारको आधिकारिक करदाता प्रोत्साहन कार्यक्रम भएको प्रस्ट पारे।
विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार उपभोक्तामा बिल लिने बानी बसाल्न कार्यक्रम सञ्चालन गरिएको हो। असोज १६ देखि ३१ गतेसम्म बिल प्रविष्टि गरेर सहभागी हुनेको संख्या दुई लाख ७५ हजार ८८४ पुगेको थियो भने क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका कारोबार तीन करोड ७४ लाख ७८ हजार ३८० थिए। यस अवधिमा कार्यक्रममा समावेश कारोबारको कुल रकम तीन करोड ७७ लाख ५५ हजार २६४ रुपैयाँ थियो।
बम्परबाहेक विभागले उक्त अवधिका हरेक दिन एक–एक जना गरी १६ जना दैनिक विजेता पनि घोषणा गरेको छ। दैनिक विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन् र कर कट्टीपछि उनीहरूको हातमा जनही एक लाख रुपैयाँ पर्नेछ। सबै विजेताले सक्कल बिलसहित कात्तिक १५ गतेभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ।
