म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइनलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणका अनुसार गए राति लाइनको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरका चार टावरमा क्षति पुर्याएको थियो । टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा भत्किएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो ।
लाइन अवरुद्ध हुँदा दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाको करिब १७० मेगावाट विद्युत् प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन खुलेसँगै ती आयोजनाबाट उत्पादित विद्युत् पुनः राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
कालीगण्डकी र यसका सहायक नदीमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् एकीकृत गरी राष्ट्रिय ग्रिडमा प्रवाह गर्ने उद्देश्यले यो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको दाना सबस्टेसनबाट सुरु भएर पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रुपन्देही हुँदै नवलपरासीको नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने यो लाइन करिब १३० किलोमिटर लामो छ भने यसको विद्युत् प्रवाह क्षमता एक हजार दुई सय मेगावाट छ ।
