काठमाडौँ । नवरात्रको नवौँ दिन आज देशभरका शक्तिपीठ र देवी मन्दिरमा दर्शनार्थीको ठूलो भीड लागेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, बज्रयोगिनी, तलेजु भवानी र टोखा चण्डेश्वरीजस्ता शक्तिपीठमा बिहानैदेखि पूजार्चनाका लागि भक्तजन ओइरिएका छन् ।
तिथि लम्बिएका कारण आज महाअष्टमीसमेत मनाइएको छ, त्यसैले भीड थप बढेको हो । उपत्यकाबाहिर दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा समेत भक्तजनको घुइँचो छ ।
मन्दिर परिसर ध्वजापताकाले सजिएका छन् । शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।
