गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको निर्णयविरुद्ध ‘लुम्बिनी बचाउ महाअभियान’ले आपत्ति जनाएको छ। अभियानका अध्यक्ष अक्रम खानले नियुक्ति फिर्ता लिन सरकारसँग माग गर्दै निर्णय सच्याइएन भने चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
असोज ३० को मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै खानले स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।
डोल्माको नागरिकताबारे उठेका प्रश्न र विदेशबाट आएको रकमको स्रोतबारे निष्पक्ष छानबिन हुनुपर्ने माग पनि खानले गरेका छन्। सन् २०१९ मा हङकङबाट ल्याइएको १६ लाख ४९ हजार ९४० अमेरिकी डलर (तत्कालीन करिब १८ करोड ३१ लाख रुपैयाँ) को स्रोत स्पष्ट हुनुपर्ने उनको माग छ। उक्त रकमबारे विगतमा बैंक खाता रोक्का गरी छानबिन अघि बढाइएको उनले उल्लेख गरेका छन्।
लुम्बिनीमा पुरातात्विक इँटा बिक्री, पीपलका रुख काटेर लगिएको, प्राचीन मन्दिरको मौलिक स्वरूप फेरिएकोलगायत अनियमितता रोकिनुपर्ने माग पनि उनले राखेका छन्। जिवित सम्पदा क्षेत्रमा शुल्क उठाउने र बुद्धसम्बन्धी अष्टधातु काठमाडौंको संग्रहालयमा राखिएको विषयमा पनि छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उनले आग्रह गरेका छन्।
छ महिनादेखि निर्णय नभएको पदमा अन्तिम समयमा गरिएको नियुक्ति शंकास्पद देखिएको खानको भनाइ छ। करिब ६०० आवेदकमध्ये विवादरहित व्यक्तिलाई छनोट गर्न सकिने भए पनि ‘विवादास्पद’ व्यक्तिलाई नियुक्त गरिएको आरोप उनले लगाएका छन्। माग सम्बोधन नभएसम्म विरोध जारी रहने चेतावनी दिँदै उनले लुम्बिनीको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व जोगाउनु सबै नेपालीको साझा दायित्व भएको बताएका छन्।
