काठमाडौं । चाडपर्वका बेला सार्वजनिक यातायातमा देखिने चाप र अभावले यात्रुलाई हुने असुविधा कम गर्न नेपाल प्रहरीले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस चल्नेछन् ।
कात्तिक ३ गते सोमबार दिउँसो ४ बजेदेखि सेवा सुरु हुनेछ । कात्तिक ४ गते भने बिहान ८ बजे र दिउँसो ३ः३० बजेदेखि बस चल्नेछन् ।
पहिलो रुट नक्सालबाट सुरु भएर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।
दोस्रो रुट नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक हुँदै विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल पुग्नेछ ।
तेस्रो रुट नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल फर्किनेछ ।
चाडपर्वका समयमा सार्वजनिक यातायातको अभावले यात्रा गर्न कठिनाइ भोग्ने यात्रुलाई यो सेवाबाट सहज हुने अपेक्षा गरिएको छ ।
