महोत्तरी — मिथिला क्षेत्रमा विजया दशमीको साँझ मनाइँदै आएको रावण वध उत्सव बुधबार साँझ हर्षोल्लासका साथ सम्पन्न भएको छ। महोत्तरीको मटिहानीसहित जिल्लाका विभिन्न ठाउँमा सर्वसाधारणको उपस्थितिमा प्रतीकात्मक रावण दहन गरिएको हो।
मटिहानी–८ को तस्मैया बाबा उद्यानमा यस वर्ष ५१ फिट अग्लो रावणको आकृति निर्माण गरिएको थियो। साँझपख आग्नेय वाणको प्रतीकस्वरूप आगोको मुस्लो हानेर आकृतिलाई भस्म गरिएको थियो। जलेश्वरलगायतका अन्य स्थानमा पनि रावण वधको लीला गरिएको छ।
मिथिलामा असोज शुक्ल दशमीका दिन साँझ श्रीरामले रावणमाथि विजय प्राप्त गर्नुभएको विश्वास रहँदै आएको छ। सीतालाई आफ्नै चेलीबेटीका रूपमा मान्ने मैथिल परम्परामा सीताको अपहरण गर्ने रावणको वध उत्सवकै रूपमा मनाइन्छ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्णका अनुसार मटिहानीमा बर्सेनि दशमीका दिन साँझ रावण वधको लीला हुँदै आएको छ। नगरप्रमुख हरिप्रसाद मण्डलले विजया दशमीमा देवी विसर्जनसँगै रावण वध उत्सव मनाउने परम्परा वर्षौंदेखि चल्दै आएको बताए।
जलेश्वर–७ बखरीका पूर्वप्रशासक महेश्वर रायका अनुसार दस इन्द्रियका दास रावणमाथिको विजयकै सम्झनामा यस पर्वलाई ‘दशहारा’ भनिएको मान्यता छ। मटिहानीमा भोलिपल्ट बाजागाजासहित ढलेको आकृतिलाई जलाशयमा विसर्जन गर्ने चलन छ।
