पाल्पाको तानसेन नगरपालिका–२ का सात जना महिलाले वनमा खेर जाने सालका पात प्रयोग गरेर दुनाटपरी उद्योग चलाएका छन्। चार लाख रुपैयाँ लगानीमा सुरु भएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन भइरहेको छ।उद्योगकी अध्यक्ष कल्पना पौडेलका अनुसार उद्योगबाट मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी भइरहेको छ। गाउँघरमा महिलाहरू जम्मा भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको उनको भनाइ छ। मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाएकाभन्दा आकर्षक र बलिया हुने उनी बताउँछिन्।”दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्याएको छ,” पौडेलले भनिन्।उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा दुई रुपैयाँ र थोकमा १०० वटाको १९० रुपैयाँ छ। चारकुने टपरी खुद्रामा प्रतिगोटा सात र थोकमा छ रुपैयाँमा बिक्री हुन्छ भने लाफा खुद्रामा १३ र थोकमा ११ रुपैयाँमा बिक्री हुने गरेको छ।सञ्चालक मञ्जु रेग्मीका अनुसार उत्पादनको माग स्थानीय बजारमा मात्र सीमित छैन। बाहिरी जिल्लाबाट पनि माग आउने गरेको र बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर बिक्री गर्ने गरिएको छ।कच्चा पदार्थ संकलन गर्ने जनशक्ति अभाव र थप मेसिनको आवश्यकतालाई उद्योगको मुख्य चुनौतीका रूपमा उद्यमीहरूले देखाएका छन्। स्थानीय सरकारले सहयोग बढाए उद्योग विस्तार सहज हुने उनीहरूको अपेक्षा छ।
सालका पातबाट दुनाटपरी: तानसेनका महिलाको आम्दानीको नयाँ बाटो
