म्याग्दी । हालैको मनसुनजन्य विपद्ले चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकका भौतिक संरचनामा करिब ८० देखि ९० करोड रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि आएको पहिरो, कालीगण्डकी नदीको बाढी र कटानले सडक क्षतविक्षत भएको हो । सडक पूर्ण रूपमा पुरानो अवस्थामा फर्काउन तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको तथा भत्काएको छ भने ५० ठाउँमा पहिरोले क्षति पुर्याएको छ । प्राथमिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याइए पनि अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले थप बजेट चाहिने उनले बताए ।
पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटरमा क्षति पुगेको छ । पहिले जोखिम भनिएका ठाउँका अतिरिक्त नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ ।
सङ्घीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार विक्रम संवत् २०७३/०७४ मा सुरु भएको यस सडकमा हालसम्मकै धेरै क्षति भएको हो । यो योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति भएको सडकमा बढी क्षति पुगेको बताए ।
पहिरो र बाढीपछि यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न अहिले तीनदेखि चार घण्टा लाग्न थालेको छ । फर्से, केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुइठेभिर, खामभित्ता र सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ ।
कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात चलाइएको छ । पहिरो र कटान भएका ठाउँमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार सवारी फस्ने र जाम हुने समस्या छ । कोरला नाका जाने कन्टेनर र मुस्ताङ जाने पर्यटकको चाप धेरै छ ।
कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले यो सडकलाई महत्वपूर्ण मानिन्छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले पुनर्निर्माणमा बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका थिए ।
