मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा पर्यटकीय याम सकिनुअघि नै स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले याम नसकिँदै उडान सेवा रोकेका हुन् ।
मुस्ताङमा वर्षको दुई याममा तारा र समिट एयरका १८ सिटे जहाजले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गर्दै आएका छन् । जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरले र सोमबारदेखि समिट एयरले नियमित उडान बन्द गरेका हुन् ।
प्रमुख शर्माका अनुसार ताराका तीन जहाजमध्ये एउटा मर्मतमा छ भने समिटका चार जहाजमध्ये एउटालाई मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।
समिट एयरलाइन्सका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी र देशका विभिन्न स्थानमा बाढी–पहिरोले सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रुले बुकिङ रद्द गरेका कारण नियमित उडान स्थगित गर्नुपरेको बताए । यद्यपि चार्टर उडान भने जारी रहने उनको भनाइ छ ।
यसअघि अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रूपमा सञ्चालन हुँदै आएको थियो । यी दुई कम्पनीले वार्षिक एक हजार दुई सयभन्दा बढी नियमित उडान गर्दै आएका छन् ।
