यस वर्ष मुस्ताङ घुम्न आउने पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा ६९ हजार ४०३ जनामात्र मुस्ताङ भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ५२ प्रतिशत कम हो । गत वर्ष सोही अवधिमा एक लाख १८ हजार ६८५ जना पर्यटक आएका थिए ।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार यस वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । गत वर्ष साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोजमा ७५ हजार ५९९ जना पर्यटक आएका थिए । असोजमा गत वर्षको तुलनामा आगमन निकै घटेको देखिन्छ ।
पर्यटक घट्नुको मुख्य कारण सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र असोज ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकखण्ड दुई साताभन्दा बढी पूर्ण रूपमा बन्द भएको थियो । असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण अवरुद्ध हुँदा केही पर्यटक पोखरा–जोमसोम हवाई मार्गबाट मात्र मुस्ताङ पुगेका थिए । भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले दर्जनौँ स्थानमा सडक क्षतिग्रस्त भएको थियो ।
हाल कोरला सडक आयोजनाले मर्मत गरी सडक सञ्चालनमा ल्याए पनि पूर्ण रूपमा सहज भइसकेको छैन । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङका अनुसार हरेक वर्ष असोज र कात्तिकमा पर्यटकको घुइँचो हुने मुस्ताङमा यसपटक सुनसान जस्तै छ, र प्राकृतिक विपत्तिका कारण पर्यटकको सङ्ख्यामा सुधार आउन नसकेको हो ।
