हिमाली जिल्ला जुम्लामा यो वर्ष स्याउखेतीले नयाँ कीर्तिमान बनाएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार हालसम्म करिब सात हजार ३३० मेट्रिकटन स्याउ जिल्लाबाट बाहिर गएको छ । यो परिमाण विगतका वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा करिब १९ हजार ५०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । यसबाट झण्डै रु ५५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । अहिले स्थानीय बगैँचामा किसानले प्रतिकेजी न्यूनतम रु ७५ का दरले स्याउ बिक्री गरिरहेका छन् ।जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमै निर्भर छन् । कुल चार हजार ६०५ हेक्टर (९२ हजार ८० रोपनी) क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा थप एक सय आठ हेक्टर (दुई हजार १६० रोपनी) मा खेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।तातोपानी गाउँपालिका–६ बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा भएको सामूहिक स्याउखेतीबाट यस वर्ष ३४ मेट्रिकटन स्याउ उत्पादन भयो । त्यहाँबाट मात्र रु ३० लाख बराबरको बिक्री भएको कार्यालयले जनाएको छ ।उच्च जातको फुजी स्याउ भने जम्मा ५२ हेक्टर क्षेत्रफलमा मात्र लगाइएको छ । यस वर्ष ४९ हेक्टरमा फुजी फलेको कार्यालयले बताएको छ । यसबाहेक रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको बिक्री वितरण भइरहेको छ ।यस वर्ष भारतबाट आउने स्याउ रोकिएपछि जुम्लाको स्याउले बजार राम्रो पाएको हो । केही व्यापारीले कोल्ड स्टोर र घरमा समेत स्याउ भण्डारण गरेकाले निर्यात र आम्दानी अझै बढ्ने अनुमान गरिएको छ ।हिमा गाउँपालिकाका स्थानीय व्यापारी माया रोकायाले जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरिन् ।
जुम्लाको स्याउले पाए राम्रो बजार : सात हजार ३३० मेट्रिकटन निर्यात
