काठमाडौं । वर्षमा महानवमीका अवसरमा मात्र सर्वसाधारणका लागि खुला हुने हनुमानढोका दरबार क्षेत्रभित्रको तलेजु भवानी मन्दिर भोलि कात्तिक ३ गते मङ्गलबार बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म दर्शनार्थीका लागि खुला गरिने भएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाले आज सरोकारवाला निकायसँग गरेको छलफलपछि यो निर्णय भएको हो। कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार बिहान ५ देखि बेलुकी ६ बजेसम्म भक्तजनले पूजा, आराधना र दर्शन गर्न पाउनेछन्।
परम्पराअनुसार वर्षको यही एक दिन मात्र खुल्ने भएकाले तलेजु भवानीको दर्शनका लागि हरेक वर्ष हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।
महाअष्टमीका दिन आज राति मूलचोकमै स्थापित तुलजा भवानीको कालरात्रि पूजा हुँदैछ। सोही पूजामा ५४ बोका र ५४ राँगाको बलि चढाइने अड्डाले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तुलजा भवानीलाई मूलचोकमा यात्रा गराइएको थियो भने १०ः३९ बजेको साइतमा स्थिरासन गरिएको थियो।
विजयादशमीका दिन कात्तिक ४ गते बुधबार बिहान १०ः५१ बजेको साइतमा तुलजा भवानीको यात्रा गराइनेछ र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गरिनेछ।
