राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा उनी टीका ग्रहण गर्नेछन्। टीका ग्रहणको विवरण प्रेस सल्लाहकारमार्फत सार्वजनिक गरिएको हो।
यसबारे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।
दसैंको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट टीका, जमरा ग्रहण गर्ने परम्परा छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि गुरु पुरोहितबाट टीका ग्रहण गर्न लागेका हुन्। शुभसाइतको समयमा देशभर मान्यजनबाट टीका लगाउने परम्परा रही आएको छ।
टीका र जमरा शक्ति, समृद्धि र शुभकामनाको प्रतीक मानिन्छन्। विजयादशमी दसैंको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण दिन हो।
यो वर्ष पनि राष्ट्रपतिले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन्। विगतका वर्षहरूमा राष्ट्रपतिले शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम गर्ने गरेका थिए।
तर गत वर्षदेखि देशले विषम परिस्थितिको सामना गर्नुपरेका कारण शान्तिपूर्ण र हर्षोउल्लासको वातावरण नभएकाले यो कार्यक्रम रोकिएको प्रेस सल्लाहकार पोखरेलले बताए। सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम यस वर्ष पनि स्थगित भएको छ।
