नयाँदिल्ली । भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष सघन परीक्षण (एसआईआर) का क्रममा करिब १३ करोड नाम हटाएको रोयटर्सले मंगलबार प्रकाशित गरेको रिपोर्टमा जनाएको छ । मृतक, बसाइँ सरेका वा दोहोरिएका दर्ता हटाउने भनिएको प्रक्रियामा जीवित र योग्य मतदाताका नाम समेत हटेका घटना सार्वजनिक भएपछि भारतमा विवाद र आन्दोलन चर्किएको हो ।
दिल्लीका ५३ वर्षीय दर्जी कमता प्रसाद यसका एक उदाहरण हुन् । सिलाइ गरेर दैनिक २५० भारतीय रूपैयाँ कमाउँदै चारजनाको परिवार पाल्दै आएका उनलाई सूचीमा मृतक ठहराइएको छ — विवरणमा नाम समेत ‘कान्ता प्रसाद’ लेखिएको छ । ३५ वर्षदेखि मतदान गर्दै आएका उनी आफू जीवित रहेको प्रमाणित गर्न सरकारी कार्यालय धाउँदा दैनिक कमाइसमेत छुटिरहेको बताउँछन् । अगस्ट ३१ को दिल्लीको प्रारम्भिक सूचीमा मात्रै करिब ४२ लाख नाम हटाइएका थिए ।
आयोगले गल्तीवश हटेका मतदाताले प्रमाणपत्र पेस गरेर दाबी गर्न सक्ने बताएको छ, तर प्रक्रिया सहज छैन । पटकपटक कार्यालय धाउनुपर्ने र सुनुवाइमा उपस्थित हुनुपर्ने भएकाले कतिपयले हप्तौं–महिनौंदेखि संघर्ष गरिरहेका छन् । रोयटर्सले प्रतिक्रिया माग्दा आयोगले जवाफ नदिएको जनाएको छ ।
विरोधपछि आयोगले दिल्लीसहित केही स्थानमा विवरण पुनः प्रमाणीकरण गर्ने र एसआईआर सम्पन्न भएका २० राज्य तथा केन्द्रशासित प्रदेशमा विशेष अभियान चलाउने निर्देशन दिएको छ ।
यसबीच आयोगविरूद्ध आन्दोलनको अगुवाइ गरिरहेको कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्केले तिहारसम्म सडक प्रदर्शन स्थगित गर्ने घोषणा गरेका छन् । पार्टीले जेलमा रहेका आफ्ना दुई नेता सौरभ दास र आशुतोष रांकाको हिरासतविरूद्ध दिल्ली उच्च अदालतमा निवेदन दर्ता गराएको छ । अक्टोबर १३ मा जन्तरमन्तरमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई बुधबार पुनः मजिस्ट्रेटसमक्ष उपस्थित गराइनेछ ।
