बेलायतका सीमा अधिकारीहरूले चिनियाँ नागरिकहरूलाई घण्टौँ हिरासतमा राखेर सोधपुछ गर्ने र मोबाइल फोनजस्ता विद्युतीय उपकरण जफत गर्न थालेपछि बेइजिङले लन्डनसमक्ष औपचारिक विरोध दर्ता गरेको छ।
बेलायतस्थित चिनियाँ दूतावासले विज्ञप्ति निकाल्दै व्यापारिक टोलीका सदस्यदेखि पर्यटक र आफन्त भेट्न पुगेका साधारण यात्रीसम्मलाई विमानस्थलमै अनावश्यक रूपमा रोक्ने, लामो समयसम्म सोधपुछ गर्ने र उनीहरूका उपकरण खोस्ने गरिएको उल्लेख गरेको छ। बेलायती पक्षले भने आफ्नो कदम सन् २०१९ को आतंकवादविरोधी तथा सीमा सुरक्षा कानुनअनुरूप भएको दाबी गरेको छ।
दूतावासको विज्ञप्तिमा घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। चिनियाँ नागरिकमाथि हुने यस्ता मनोमानी नियन्त्रण र सोधपुछ बन्द गराउन बेलायतलाई निरन्तर दबाब दिने दूतावासले जनाएको छ। साथै, बेलायत भ्रमण गर्ने चिनियाँ नागरिकलाई आफ्नो सामान र गोपनीयताको रक्षा गर्न, बेलायती कानुनबारे सचेत रहन र आवश्यक परे कूटनीतिक सहयोग लिन आग्रह गरिएको छ। गत डिसेम्बरमा पनि दूतावासले यस्तै चेतावनी जारी गरेको थियो।
यो विवाद बेलायती गुप्तचर संस्था एमआई-फाइभका महानिर्देशक केन म्याकलमले चीनमाथि जासुसी र हस्तक्षेपको आरोप लगाएको झन्डै एक सातापछि सार्वजनिक भएको हो। म्याकलमले चिनियाँ गुप्तचर संस्थाहरूले नक्कली अनुसन्धान संस्थामार्फत बेलायतका विश्वविद्यालय तथा अनुसन्धान केन्द्रबाट कृत्रिम बौद्धिकता र साइबर सुरक्षाजस्ता संवेदनशील प्रविधि चोर्न खोजेको दाबी गरेका थिए।
तर चिनियाँ दूतावासले ती आरोपलाई काल्पनिक र दुर्भावनापूर्ण भ्रामक प्रचार भन्दै अस्वीकार गरेको छ। दूतावासले चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र बेलायतको घरेलु मामिलामा पनि चासो नरहेको स्पष्ट पारेको छ। यससँगै दुई मुलुकबीचको कूटनीतिक सम्बन्धमा थप तनाव सिर्जना भएको छ।
