काठमाडौं — जेन-जी आन्दोलनका अगुवा मिराज ढुंगानाले आफूलाई रातिको समयमा नपक्राउ गर्न सरकारसमक्ष आग्रह गरेका छन् । आफूलगायतका अभियानकर्मीलाई पक्राउ गर्ने तयारी भइरहेको सूचना पाएको उल्लेख गर्दै उनले पक्राउ गर्नु भएमा दशैँपछि दिउँसै गर्न चुनौती दिएका हुन् ।
ढुंगानाले सामाजिक सञ्जालमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् । फेसबुकमा लेख्दै उनले आफूलगायतका केही जेन-जी साथीहरूलाई मध्यरातमा पक्राउ गर्ने खबर आइरहेको जनाएका छन् । उनले दशैँपछि आफूले तेस्रो ध्रुव र जनविद्रोहपछिको वैकल्पिक शक्तिको वकालत गर्ने जनाउँदै पक्राउ पनि दिउँसो, दशैँपछिमात्र गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उनले देश रातिमा मात्र चल्ने प्रवृत्ति बनेको भन्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत गरेका छन् । पछिल्लो समय जेन-जी आन्दोलनसँग जोडिएका अभियानकर्मीहरूको गतिविधि र सरकारको सम्भावित कारबाहीबारे सार्वजनिक बहस चर्किँदै गएका बेला उनको यो भनाइ आएको हो ।
पक्राउको सम्भावनाबारे सूचना पाएपछि सार्वजनिक रूपमै सरकारलाई चुनौती दिनुले आगामी दिनमा सरकार र जेन-जी अभियानकर्मीबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने सङ्केत मिलेको छ ।
