काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानमा कुनै सुधार आवश्यक देखिए त्यसलाई संवैधानिक प्रक्रिया र फराकिलो राष्ट्रिय सहमतिमार्फत मात्र अघि बढाउनुपर्ने बताएका छन् । बडादसैँ २०८३ का अवसरमा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
रेग्मीले प्राकृतिक विपत्ति र शिथिल अर्थतन्त्रका कारण मुलुक कठिन घडीबाट गुज्रिरहेको स्मरण गराउँदै यसैबीच देशलाई अस्थिरतातर्फ धकेल्ने चलखेल देखिनु चिन्ताको विषय भएको उल्लेख गरे । जनताको अभिमतबाट बनेको संविधान र कानुनी शासन नै राष्ट्रको सबैभन्दा भरोसायोग्य आधार भएको उनको भनाइ छ । मतभेदका सवाल संवाद, संयमता र कानुनी दायराभित्रै टुङ्ग्याइनुपर्ने उनले जोड दिए ।
यस वर्षको चाडपर्व बाढीपहिरोजस्ता विपत्तिले खल्लो बनाएको बताउँदै रेग्मीले घर गुमाएर अस्थायी बासमा बस्न विवश पीडितको पीडा मेट्न र उनीहरूको जीवन सहज बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । राहत, पुनःस्थापना र पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राख्न उनले सरकारको ध्यान ताने, साथै आ–आफ्नो हैसियतअनुसार पीडितलाई सघाउन आह्वान गरे ।
विदेशमा पसिना बगाउने लाखौँ युवाको श्रमले देश धानेको भन्दै उनले स्वदेशमै सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । युवाको जोश, सुशासन, भ्रष्टाचाररहित प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको जग हुने उनको भनाइ छ ।
विजयादशमी असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक भएको स्मरण गराउँदै रेग्मीले सबैलाई सत्य र न्यायको बाटोमा दृढ रहन प्रेरित गर्ने विश्वास व्यक्त गरे । तडकभडकबिनै सौम्य ढङ्गले दसैँ मनाउन आग्रह गर्दै उनले पर्वले देशलाई उन्नति, स्थिरता र समृद्धितर्फ लैजाओस् भनी दुर्गा भवानीसँग कामना गरे ।
