आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
ओमान क्रिकेट एकेडेमीको टर्फ १ मैदानमा सोमबार बिहान सवा ११ बजेबाट सुरु भएको खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन्।
नेपालले आजको खेलमा एउटा परिवर्तन गर्दै अर्जुन कुमाललाई बाहिर राखेर देव खनाललाई पहिलो रोजाइमा उतारेको छ। देवको समावेशले टोलीमा नयाँ संयोजन ल्याउने अपेक्षा गरिएको छ।
यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण छ। अंकतालिकामा शीर्ष छ स्थानभित्र अट्न नेपाललाई जित अनिवार्य छ। शनिबार क्यानडासँग हारेपछि नेपाल ३५ खेलमा २८ अंकका साथ सातौँ स्थानमा झरेको छ भने क्यानडा ३६ खेलमा २९ अंक लिएर छैटौँमा उक्लिएको छ। आज ओमानलाई हराउन सके नेपाल फेरि छैटौँ स्थानमा फर्कनेछ।
नेपालले शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको थियो। लिग २ को शीर्ष छ टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्ने सम्भावना उच्च भएकाले यो लक्ष्य नेपालका लागि रणनीतिक महत्त्वको मानिन्छ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, देव खनाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी
