सुर्खेत — इतिहासमै पहिलो पटक कर्णाली प्रदेशले आयोजना गर्न लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म चल्नेछ। डेढ महिना मात्र बाँकी हुँदा सह-आयोजक कर्णाली प्रदेशमा पूर्वतयारी तीव्र गतिमा भइरहेको छ।
प्रतियोगिताको मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् भए पनि आयोजना स्थल र सह-आयोजक कर्णाली भएकाले प्रदेशमाथि ठूलो जिम्मेवारी छ। कुल ३२ खेलमध्ये मुख्य प्रादेशिक रङ्गशालामा १६–१७ वटा खेल खेलाइनेछ। केही खेल सुर्खेतबाहेक सल्यान, रुकुम पश्चिम, कालीकोट र दैलेखमा हुनेछन् भने पूर्वाधार अभावका कारण दुई–तीन खेल लुम्बिनीका नेपालगन्ज र बर्दियामा खेलाउने सम्भावना छ। लनटेनिस र सुटिङ खेलको पूर्वाधार कर्णालीमा नभएकाले प्रदेशबाहिर लैजानु बाध्यता बनेको छ।
बजेट भने अझै चुनौती छ। चालु वर्ष प्रदेश सरकारले झन्डै ६ करोड छुट्याएको छ। बन्द प्रशिक्षणका लागि १ करोड, प्रतियोगिता आयोजनाका लागि ५ करोड र पूर्वतयारीका लागि ५० लाख गरी समग्रमा ६ करोड ५० लाख जति बजेट छ। थप ३ देखि साढे ३ करोड रुपैयाँ अपुग देखिएको प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
अहिलेसम्म १५ वटा खेलको छनोट सम्पन्न भइसकेको छ भने बाँकी १७ खेलको खुला छनोट दसैँपछि हुनेछ। नवौँ संस्करणमा दुई स्वर्ण पदक जितेको कर्णालीले यसपटक चार–पाँच स्वर्णसहित पदक सङ्ख्या दोहोरो अङ्कमा पुर्याउने लक्ष्य राखेको छ। मुख्य रङ्गशालाको भौतिक काम शतप्रतिशत सकिएकाले प्रतियोगिता सञ्चालनमा रोकटोक नहुने परिषद्को भनाइ छ।
