काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी परियोजनालाई अगाडि बढाउन बुढीगण्डकी विकास प्राधिकरण विधेयकको सैद्धान्तिक स्वीकृति भएको निर्णयप्रति खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त कदम स्वागतयोग्य रहेको उल्लेख गरे ।
भट्टराईले पछिल्लो समय भोटेकोशी, त्रिशूली र बुढीगण्डकीमा देखिएका हिमपहिरो तथा चट्टान पहिरोका महाविपद्को आडमा नेपालमा ठूला जलाशययुक्त परियोजना नै बनाउन नहुने आवाज उठाउनु विडम्बनापूर्ण भएको बताए । ठूलो भूकम्प गएकै कारणले बहुतले भवन बनाउनै हुन्न भन्नुजस्तो हास्यास्पद तर्क भएको उनको भनाइ छ । उनले बढी भूकम्प जाने जापानजस्ता मुलुकमा पनि सुरक्षित किसिमले अग्ला संरचना निर्माण भइरहेको दृष्टान्त दिए ।
भट्टराईका अनुसार हालैका घटनाले नेपालले ठूला नदी जलाधार क्षेत्रको एकीकृत विकास गर्नुपर्ने, असुरक्षित क्षेत्रमा बस्ती तथा पूर्वाधार स्थापना गर्न नहुने, प्राकृतिक जोखिमको पूर्वानुमान गरेर जोखिमप्रतिरोधी संरचना बनाउनुपर्ने र दिगो वातावरण संरक्षणमा ध्यान दिनुपर्ने शिक्षा दिएको छ ।
आफू प्रधानमन्त्री रहेका बेला बुढीगण्डकीलाई केवल विद्युत् आयोजनाका रूपमा मात्र नहेरी जलाशययुक्त विद्युत्, पर्यटन केन्द्र, पुनर्वाससहितको शहरीकरण, आधुनिक औद्योगिक केन्द्र र जलाधार क्षेत्रको वातावरण संरक्षणलाई समेट्ने बहुउद्देश्यीय परियोजनाका रूपमा परिकल्पना गरिएको उनले स्मरण गरे । छुट्टै ऐनबाट सञ्चालित हुने प्राधिकरणको अवधारणा त्यही उद्देश्यका लागि अघि सारिएको उनको भनाइ छ ।
हालको सरकारमा सभामुख, अर्थमन्त्री र गृहमन्त्री सोही क्षेत्रबाट आएको उल्लेख गर्दै भट्टराईले बुढीगण्डकी विकास प्राधिकरणको विधेयक निर्माण गर्दा यी महत्वपूर्ण विषयहरूमा पर्याप्त ध्यान पुग्ने विश्वास व्यक्त गरे ।
