जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीबाट ३ हजार ३६२ जनाका नाम हटाएको छ। मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिहरूको नाम सूचीबाट हटाइएको हो।
यसरी हटाइएकामध्ये दोहोरो दर्ता भएका १ हजार ९४३ जना रहेका छन्। आयोगको प्रणालीबाट जाँच गर्दा उनीहरूको नाम दोहोरो कायम भएको भेटिएको थियो।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गतेसम्म मृत्यु दर्ता गरेका १ हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको नाम पनि मतदाता सूचीबाट हटाइएको हो। मृत्यु भएकाहरूको नाम सम्बन्धित वडा कार्यालय र परिवारले दर्ता गराएको मृत्यु प्रमाणपत्रका आधारमा हटाइएको हो भने नागरिकता परित्याग गर्नेहरूको विवरण जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको थियो।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेका थिए। फागुन २१ गते मतदान भएपछि १३ हजार १३४ जना मतदाता थपिएको कार्यालयले जनाएको छ।
