काठमाडौँ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधनासहित मनाइँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर र दसैंघरमा पूजाआजाका साथै भक्तजनको घुइँचो लागेको छ ।
घटस्थापनाका दिन राखिएको जमरा आज विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दसैंघर, कोत र राज्यका विभिन्न देवी मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने परम्परा छ ।
पशुबलि नदिने र शाकाहारीहरूले भने कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल बलि दिएर पायस चढाउने गर्छन् । अधिकांश स्थानमा महाष्टमीमा बलि दिने र महानवमीमा मार हान्ने चलन रहेको छ । केही शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिइन्छ ।
मार्कण्डेय पुराणका अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकाले यस दिनलाई विशेष महत्वका साथ लिइन्छ । आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका शक्तिपीठमा पूजा आराधना र दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
पूजा कोठा वा दसैं घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिइन्छ । महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक आराधना गरिन्छ ।
महानवमीकै अवसरमा कोतहरूमा हर्षबढाइँसहित कोतपूजा र निशानापूजा गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा गर्ने प्रचलन रहेको छ ।
