चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । करिब दुई किलोमिटर दूरी रहेको यस मार्गमा केबलकार निर्माणको जिम्मा आइएमई ग्रुपले लिएको हो । ग्रुपका अनुसार आगामी दुई वर्षभित्र निर्माण पूरा गरी केबलकार सञ्चालनमा ल्याइने छ ।
हाल आइएमई ग्रुपले गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिरनजिक रहेको इला होटलसम्म केबलकार सेवा दिइरहेको छ । नयाँ परियोजना सम्पन्न भएपछि अब देवघाटतर्फबाट पनि सिधै मौलाकालिका पुग्न सकिने छ, जसले दुई धार्मिक केन्द्रबीचको यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।
ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ । कामको प्रगति नियमित रूपमा मूल्याङ्कन हुँदै गएको उनले जानकारी दिए ।
केबलकार सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीच धार्मिक तथा पर्यटकीय आवागमन उल्लेखनीय रूपमा बढ्ने विश्वास ढकालको छ । देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र मानिन्छन्, र यी क्षेत्रमा हरेक वर्ष ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन् ।
