बारा । सिमरामा एक बहुला कुकुरले सोमबार एकैदिन ११ जनालाई टोकेर घाइते बनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल पछाडिको बस्तीमा केही दिनदेखि आतंक मच्चाइरहेको उक्त कुकुरलाई सोमबार साँझ नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
सोमबार बिहान मन्दिर जाँदै गरेकी स्थानीय मन्दिरा रिजालमाथि कुकुरले आक्रमण गरेको थियो । टोकाइबाट उनको मुखमा गम्भीर चोट लागेको छ भने ओठको भाग लुछिएको छ । उनलाई उपचारका लागि पहिले वीरगञ्ज लगिएकामा थप उपचारका लागि काठमाडौं पठाइएको वडाध्यक्ष धनबहादुर श्रेष्ठले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार घाइतेमध्ये दुई जनालाई काठमाडौं लगिएको छ भने सात जनालाई वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुर्याइएको छ ।
कुकुरले केही दिनअघि सोही क्षेत्रकी तीन वर्षीया बालिका आयंका तामाङलाई पनि टोकेको थियो । उक्त टोकाइबाट बालिकाको मुख र चिउँडोमा गम्भीर चोट लागेको थियो ।
बस्तीमा कुकुरको आतंक बढेपछि स्थानीयले सोमबार जनप्रतिनिधिलाई जानकारी गराएका थिए । त्यसपछि नगर प्रहरी, जनप्रतिनिधि र स्थानीय युवाको टोलीले कुकुरको खोजी गरेको थियो । खोजीका क्रममा थप सात जनालाई कुकुरले टोकेको वडाध्यक्ष श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त कुकुरले जसलाई भेट्यो, सिधै मुखमा टोक्न खोज्ने प्रकृतिको थियो । एक सातादेखि बस्तीमा कुकुरको आतंक बढेपछि नगरप्रमुख राजन पौडेलले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र कुकुर देखेमा तत्काल सूचना दिन आग्रह गरेका थिए ।
