काठमाडौँ — आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका अवसरमा सवारी साधनको पूजा गरिएको छ। सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरी सजाएर पूजा गर्ने परम्परा छ। कसैले सवारी साधनलाई बलिसमेत चढाउने चलन छ भने धेरैले नरिवल फुटाउनेलगायत विविध तरिकाले पूजाआजा गर्ने गर्छन्। यस दिन सवारी साधनको पूजा गर्दा लामो समयसम्म टिक्ने र चलाउँदा बाधा नहुने जनविश्वास रहिआएको छ।
यसैदिन नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। नवमीका दिन आफ्ना हातहतियारलगायत दैनिक प्रयोगमा आउने साधनहरूको पूजा गर्ने परम्परा नेपाली समाजमा पुरानो छ।
महानवमी दसैँका प्रमुख दिनमध्ये एक हो। बडा दसैँका बेला नवदुर्गाको पूजा हुन्छ भने महानवमीका दिन देवी दुर्गाको शक्तिको सम्झना गर्ने परम्परा छ। आधुनिक युगमा सवारी साधन धेरैका लागि जीविकोपार्जनको माध्यम बनेकाले यस पूजाको महत्त्व झनै बढेको छ। ट्याक्सीदेखि बस, ट्रक, मोटरसाइकल र स्कुटरसम्मका सवारी साधनलाई फूलमालाले सजाएर ध्वजापताकाले श्रृङ्गारिएको देखिन्छ।
