कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी संवाददाता र युरोपेली कूटनीतिज्ञहरूलाई निशाना बनाइएका आक्रमणका घटनाको अनुसन्धानमा इजरायली प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सप्ताहन्तमा भएका छुट्टाछुट्टै दुई घटनामाथिको छानबिनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पहिलो घटनामा वाशिंगटन पोस्टकी फोटो पत्रकार हेइडी लेभिन प्यालेस्टिनी किसानहरूले जैतुनको फसल टिपिरहेको दृश्य कैद गर्ने क्रममा आक्रमणको सिकार हुनुभएको थियो। अर्कोतर्फ, युरोपेली कूटनीतिज्ञहरूको टोली वेस्ट बैंकको तैबेह गाउँमा त्यहाँको वस्तुस्थिति बुझ्न पुगेको बेला दोस्रो आक्रमण भएको थियो। प्यालेस्टिनी किसानहरूले जैतुन टिप्न खोज्दा इजरायली बस्तीका बासिन्दाहरूले झन्डै दैनिक आक्रमण गर्ने गरेको विवरण बाहिरिएपछि कूटनीतिज्ञहरू स्थिति मूल्याङ्कन गर्न त्यहाँ पुगेका थिए।
इजरायली प्रहरीका अनुसार पक्राउ ‘अपरेशन ओलिभ लिफ’ नाम दिइएको संयुक्त अभियानअन्तर्गत भएको हो। उक्त अभियानमा इजरायली आन्तरिक सुरक्षा निकाय शिन बेट र सेना समेत सहभागी थिए। मध्य वेस्ट बैंकका बस्तीहरूसँग जोडिएका विभिन्न चौकीहरूमा छापा मारेर संदिग्धहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासँग संदिग्धहरूको सम्बन्ध पुष्टि गर्न सक्ने प्रमाण तथा केही सवारीसाधन पनि जफत गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको परिचय भने सार्वजनिक गरेको छैन। तर स्थानीय सञ्चारमाध्यमहरूले ती सबै इजरायली बस्तीका बासिन्दा भएको उल्लेख गरेका छन्। उनीहरूमाथि लगाइएका आरोप र घटनाबारे थप विवरण प्रहरीले अझै सार्वजनिक गरेको छैन।
