आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटको तयारी तीव्र पारेको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले स्थानीय तह, जिल्ला र प्रदेश गरी तीन तहको छनोट कार्यतालिका तय गरी ११ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिसकेको छ।
परिषद्को निर्णयअनुसार स्थानीय तहस्तरीय छनोट प्रतियोगिता कात्तिक १० गतेभित्र सम्पन्न गर्नुपर्नेछ। त्यसपछि कात्तिक १३ देखि १५ गतेसम्म जिल्लास्तरीय र कात्तिक १६ देखि २० गतेसम्म प्रदेशस्तरीय छनोट हुनेछ। प्रदेशस्तरीय प्रतियोगिताबाटै राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी तथा टोलीको अन्तिम टुङ्गो लाग्नेछ।
परिषद्का सदस्य सचिव श्रीधर शर्माका अनुसार स्थानीय तहबाट छनिएका खेलाडीले जिल्लास्तरीय प्रतिस्पर्धामा भाग लिन पाउनेछन् भने जिल्लाबाट उत्कृष्ट हुनेहरू प्रदेशस्तरीय छनोटमा पुग्नेछन्। छनोट प्रक्रियालाई व्यवस्थित र मापदण्डमा आधारित बनाउन जिल्ला खेलकुद विकास समिति, स्थानीय तह र सरोकारवालाबीच समन्वय गर्न परिषद्ले आग्रह गरेको छ। यसपटकको राष्ट्रिय खेलकुदमा ३२ वटा खेल समावेश छन्।
खेलाडी छनोट, टोली निर्माण र बन्द प्रशिक्षणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न परिषद्ले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गरेको छ। परिषद्ले तयारीका लागि प्रदेश सरकारसँग रु नौ करोड ६८ लाख बजेट माग गरेको छ, तर निर्णय भने आइसकेको छैन। सदस्य सचिव शर्माले खेलाडीलाई प्रोत्साहन गर्न नगद पुरस्कारसँगै अध्ययन छात्रवृत्ति, दुर्घटना बिमा र मासिक निर्वाह भत्ताको प्रस्ताव पनि मन्त्रालयमा पठाइएको बताए।
विसं २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजित नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीले प्रदेशहरूमध्ये प्रथम स्थान हासिल गरेको थियो। घरेलु मैदानको त्यो सफलतापछि यसपटक कर्णालीमा पनि साख जोगाउने चुनौती गण्डकीसामु छ।
