काठमाडौं । भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात, बिक्री वितरण र पैठारी स्वीकृतिमा नेपाल सरकारले तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न आदेश दिएको छ। बिस्कुट उत्पादनमा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसिएको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गरेको हो।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त ब्रान्डको पैठारी स्वीकृति र नाका प्रवेश अनुमति पूर्ण रूपमा स्थगन गर्ने निर्णय गरेको थियो।
निर्णय भारतको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा लिइएको हो। उपभोक्ताको उजुरीपछि त्यहाँको नियामकले उत्पादक कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखाना निरीक्षण गर्दा गम्भीर लापरबाही फेला पारेको थियो। बिस्कुटमा फाइबरको स्रोतका रूपमा गाईवस्तुलाई खुवाउने चोकर प्रयोग गरिएको थियो, जुन बोरामा ‘गाईवस्तुको दानाका लागि, मानव उपभोगका लागि होइन’ भनी स्पष्ट उल्लेख गरिएको थियो।
निरीक्षणमा कारखानाको सरसफाइ, कीट नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत गम्भीर कमजोरी पाइएकाले भारतमा कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।
नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट — सबै ब्याच र उत्पादन मितिका — बिक्री रोक्न र फिर्ता गर्न आदेश दिइएको छ। फिर्ता भएका बिस्कुट स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का उठाएर सुरक्षित रूपमा नष्ट गर्नुपर्नेछ। आदेश उल्लंघन गरी बिक्री जारी राखेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कडा कारबाही हुने विभागले चेतावनी दिएको छ।
