काठमाडौँ — शारदीय नवरात्रको आठौँ दिन आज (आइतबार) घरघरका दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्येकी महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विशेष आराधना गर्ने चलन छ । नवरात्रको पहिलो दिन असोज २५ गते शैलपुत्रीको आह्वानसँगै सुरु भएको पूजाक्रममा दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको आराधना भइसकेको छ भने आज आठौँ दिन महागौरीको पूजा गरिएको हो ।
घटस्थापना गरिएको स्थलमा नवरात्रका नौ दिनभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत्लगायत देवी स्तोत्र पाठ गरिन्छ । देवीको विधिपूर्वक आराधना र पूजाअर्चनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
यसवर्ष विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीदेखि कोजाग्रात पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या हुने छैन । नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रात पूर्णिमाका दिनसम्म लगाइन्छ र नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन् ।
