म्याग्दीको पश्चिमी भेगलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा सुख्खा पहिरो झरेपछि यातायात अवरुद्ध भएको छ । शनिबार अपराह्नदेखि निरन्तर झरिरहेको पहिरो अझै रोकिएको छैन । फापरखेत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्छ ।
पहिरो रोकिन नसक्दा मुख्य सडकको मर्मत गर्न सकिने अवस्था नभएपछि मङ्गला गाउँपालिकाले वैकल्पिक मार्ग खोलिदिएको छ । पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर खण्ड प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । वर्षायाममा बिग्रिएको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरेर आइतबार दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चल्न मिल्ने बनाइएको मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले जानकारी दिए ।
“पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा घर फर्कने नागरिकलाई राहत दिन वैकल्पिक सडक सञ्चालन गरिएको हो,” गिरीले भने । बेनी–दरबाङ सडकलाई मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाका लागि ‘लाइफलाइन’ मानिन्छ ।
फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम थाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । पहिरो र वैकल्पिक सडकको अवस्थाबारे गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरीक्षण गरी यातायात सञ्चालनमा सहजीकरण गरेका थिए ।
वडा सदस्य गिरीका अनुसार विसं २०५८ मा यो सडक सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिँदै आएको छ, तर यसपटक अघिल्लोभन्दा फरक स्थानमा पहिरो झरेकाले बाध्य भएर वैकल्पिक मार्ग खोल्नुपरेको हो ।
