विराटनगर । नेपाल राष्ट्र बैंकको प्रदेशगत प्रतिवेदन २०८२–८३ ले कोशी प्रदेशका ‘गेमचेन्जर’ भनेर चिनिएका ठूला आयोजनाहरूको ताजा अवस्था सार्वजनिक गरेको छ । कतिपय आयोजना सकिने चरणमा पुगे पनि मुआब्जा विवाद, बजेट अभाव र निर्माण कम्पनीका आन्तरिक समस्याका कारण धेरै काम अझै सुस्त छन् ।
सबैभन्दा ठूलो आयोजनामध्ये संखुवासभाको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना हो, जुन देशकै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानीको जलविद्युत् योजना पनि हो । करिब एक खर्ब ८८ अर्ब रुपैयाँ अनुमानित लागतको यो आयोजनाको भौतिक प्रगति ७५ दशमलव ८१ प्रतिशत पुगेको छ र २ हजार ६ सय २९ जना कामदारले रोजगारी पाइरहेका छन् । २०८५ पुससम्म उत्पादन गृह सक्ने लक्ष्य छ । उत्पादित बिजुली पुर्याउन संखुवासभादेखि महोत्तरीसम्मको २१७ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन ५८ दशमलव ६५ प्रतिशत पूरा भएको छ ।
सडकतर्फ पुष्पलाल मध्यपहाडी लोकमार्गको कोशी खण्डको पहिलो खण्ड ८० प्रतिशत, हुलाकी राजमार्ग ७५ प्रतिशत र मदन भण्डारी राजमार्गको पहिलो खण्ड ८३ प्रतिशत पूरा भएको छ । तर, विराटचोक–घिनाघाट चार लेन सडक निर्माण कम्पनीसँगको भुक्तानी विवादले ८६ प्रतिशत प्रगतिमै रोकिएको छ ।
बाढी–पहिरोको जोखिम, मुआब्जा विवाद र तीन तहका सरकारबीच समन्वयको अभाव आयोजनाहरूका मुख्य चुनौती रहेको प्रतिवेदनले औंल्याएको छ ।
